दोषी नठान है मेघलाई,
कि आज यसरी वर्षिरहेको छ।
गगनको उरमा थुप्रिएको व्यथा,
आखिर कहिलेसम्म थामेर बस्थ्यो र?
गड्याङगुडुङ सायद उस्कै चित्कार हो,
बिजुलीको चमक,
भित्र दबेको उही आवेग,
बर्सिन्छ थोपा थोपा शीतलता छरेर,
धरालाई भिजाउन, स्वयं रित्तिन खातिर।
उस्तै त हो नि मान्छेको अन्तर्मन पनि,
बोकिहिँड्छ कति बोझ, कति गुप्त वेदनाहरू।
नभनिएका कुरा, नरुँदाका आँसु,
मुस्कानको बर्को ओढी लुकाएका चोटहरू।
आफ्नो भारी बिसाउने त्यो उत्कट चाहना,
कसलाई पो हुन्न र यहाँ?
यदि नयनबाट केही थोपा बगे,
या केही शब्द ओठबाट अनायासै फुत्के,
नठान है यो कमजोरी, या कुनै भूल,
यो त मनले राहतको लामो सास फेरेको हो।
जसरी मेघ रित्तिन्छ घनघोर बर्सिएर,
मन पनि त खोज्छ नि हल्का हुने धोको।
त्यसैले, दोष नदेऊ कसैलाई,
यदि भावनाको बाँध फुटेर छताछुल्ल बग्यो।
किनकि मन हलुका पार्ने यो नैसर्गिक हक त,
सबैलाई छ, तिमीलाई, मलाई, सारा जगलाई।
मेघ त बरु साधुवादकै योग्य छ,
सिकायो उसले - रित्तिनुमा पनि जीवन छ।

No comments:
Post a Comment