Saturday, April 12, 2025

गहिरो नाता अनि रित्तो मन

यत्तिकै कहाँ बन्छ र नौलो मान्छे सँग गहिरो नाता,
त्यसै कहाँ कोही अपरिचितको साथ रोज्दछ र?
पक्कै आफ्नै आँगनको छहारी पातलिएको होला,
पक्कै कुनै आफ्नैले मनमा घोचेको होला।

जब आफ्नै दैलोमा आवाजहरू सुनिदैनन्,
जब आफ्नै भावनाहरू भित्तामा  ठोकिन्छन्।
जब मुस्कान पछाडिको आँसु कसैले देख्दैनन्,
अनि आँखाहरू एक सहानुभूतिका लागि तड्पिन्छन्।

जब आशाका धागाहरू आफ्नै हातबाट चुँडिन्छन्,
जब विश्वासको जगमा चिराहरू देखिन्छन्।
जब भिडमा भएर पनि एक्लोपनले घेर्छ,
अनि सास फेर्न पनि गह्रुङ्गो झैँ लाग्छ।

तब मनले खोज्छ एउटा कुना, एउटा नयाँ आश्रय,
जहाँ नभने पनि पीडा कसैले बुझ्न सकोस्।
जहाँ जाँच्ने नजरहरूको पहरा नहोस्,
र छरिएका टुक्राहरूलाई कसैले थाम्न सकोस्।

त्यो अपरिचित अनुहार तब केही आफ्नो लाग्छ,
उसको कुरामा शायद आफ्नै प्रतिबिम्ब झल्किन्छ।
त्यो रित्तोपन जसले मन भित्र गहिरो कोलाहल गर्थ्यो,
कुनै नौलो मान्छेको सहानुभूतिले मन केही भरिन्छ।

त्यसैले सत्य हो, 
यत्तिकै कहाँ जोडिन्छ र अपरिचितसँग मन,
यत्तिकै कहाँ कसैले पराईमा आफ्नोपन खोज्छ होला।
कुनै आफ्नैले दिएको मौनता चिच्याएको हुनुपर्छ,
केही रित्तोपन आफ्नाले नै दिएको हुनुपर्छ...
हो, केही रित्तोपन आफ्नाले नै दिएको हुनुपर्छ।

No comments:

Post a Comment